दफा १९
पुल दरबन्दी सम्बन्धी व्यवस्था

(१) दफा ७ बमोजिम समायोजन भई बाँकी रहेका सरकारी सेवाका कर्मचारीहरु सेवा सञ्चालन गर्ने निकायको पुल दरबन्दीमा स्वतः कायम भएको मानिनेछ। यसरी पुल दरबन्दीमा कायम भएका कर्मचारीलाई अन्यत्र कामकाज गर्न खटाईएको अवस्थामा बाहेक सम्बन्धित सेवा सञ्चालन गर्ने निकायले हाजिर गराउनु पर्नेछ।

(२) उपदफा (१) बमोजिम पुल दरबन्दीमा रहेका कर्मचारीहरु तथा त्यस्ता कर्मचारीको दरबन्दी सम्बन्धी विवरण सेवा सञ्चालन गर्ने निकायले श्रेणी वा तहगत रुपमा खुलाई मन्त्रालय र राष्ट्रिय किताबखानालाई यथाशीघ्र उपलब्ध गराउनु पर्नेछ। यसरी प्राप्त विवरण समेतको आधारमा राष्ट्रिय किताबखानाले विवरण अद्यावधिक   गर्नेछ।

(३) उपदफा (१) बमोजिम पुल दरबन्दीमा रहेका कर्मचारी माथिल्लो पदमा बढुवा भएमा वा कुनै कारणले सेवामा नरहेमा त्यस्तो दरबन्दी स्वतः खारेज हुनेछ र सोही बमोजिम सेवा सञ्चालन गर्ने निकाय र राष्ट्रिय किताबखानाले अभिलेख अद्यावधिक गर्नेछ।

(४) यस दफा बमोजिम सरकारी सेवाको पुल दरबन्दीमा रहेको कर्मचारी निजको सेवा शर्त सम्बन्धी कानूनको अधीनमा रही सङ्घको सम्बन्धित सेवा, समूह वा उपसमूहको माथिल्लो पदमा बढुवाको लागि सम्भाव्य उम्मेदवार हुन पाउनेछ।